समाचार

लोकदोहोरी प्रतिष्ठान ललितपुरको भवन बनाउन सहयोग गर्ने गोदावरीका मेयरको प्रतिबद्धता

ललितपुर ,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति ललितपुरको १० औँ वार्षिक साधारण सभा सहित सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शनिबार गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यतामा चापागाउँमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन भन्ने मूल उद्देश्यका साथ२०५८ सालमा स्थापना भई लोक दोहोरी तथा लोक संगीत र संस्कृतिको संरक्षण,जगेर्ना गर्दै आएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको २०७० सालमा ललितपुर जिल्ला कार्यसमिति गठन भई विभिन्न सामाजिक सांस्कृतिक कार्यक्रम तथा मौलिक लोककला संस्कृतिको संरक्षण गर्दै आएको जिल्ला कार्यसमितिका सचिव सन्तोष दहालले बताए ।

१० औँ वार्षिक साधारण सभामा बोल्दै प्रमुख अतिथी गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गीत सँगीत र कला संस्कृतिको नेपालमा अत्यन्त ठूलो महत्त्व रहेको र यसले नै नेपाल र नेपालीलाई विश्वभर चिनाउन मद्दत गरेको धारणा व्यक्त गरे । साधारण सभामा संस्थाको कार्यालय सन्चालनको लागि भवन अभाव भएको विषय उठेपछी मेयर महर्जनले संस्थाले कतै जग्गा प्राप्त गरे भवन बनाउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै प्रतिष्ठानका अन्य हरेक गरिविधिहरुमा सदैव आफ्नो र नगरको सधैँ सहयोग रहने उनले बताए ।

यस्तै प्रदेश सांसद मधुसुदन पौडेलले पनि लोक कला,संस्कृती र लोक साहित्यको माध्यमबाट हामी नेपालीहरु विश्वभर नेपाली भनेर चिनिएकोले यसको विकास र संरक्षणमा तीनै तहका सरकारले भूमिका खेल्नुपर्ने र आफूले सांसदको हैसियतमा गर्नुपर्ने सहयोग र सम्बन्धित निकायमा पहल तथा खबरदारी गर्न तयार रहेको बताए । पूर्व सांसद चेतनाथ सञ्जेलले ललितपुर जिल्लामा लोक संस्कृतिको अथाह खानी रहेको भन्दै लोक दोहोरी प्रतिष्ठानले यसको विकास र संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरे ।

कोन्ज्योसोम गाउँपालिकाका प्रमुख कृष्णमान लामाले लोक कला,संस्कृति,साहित्य तथा ललितकलाको विकासका लागि गाउँपालिकाले कोन्ज्योसोम वाङ्मय प्रतिष्ठान ऐन निर्माण गरेको र सोहीअनुसार कार्यविधी र नीति नै बनाएर लोक संगीत,संस्कृतिको जगेर्ना र उत्थानमा स्थानीय तहको क्षेत्राधिकार भित्र रहेर कार्य गर्ने बताए । साथै लोक तथा दोहोरीगीत प्रतिष्ठानलाई आवश्यक पर्ने सबै सहयोग गाउँपालिकाबाट सकेसम्म उपलब्ध गराउने उनको भनाई थियो ।

कार्यक्रममा बाग्मती प्रदेश सांसद मधुसुदन पौडेल,पूर्व सांसद चेतनाथ सञ्जेल,कोन्ज्योसोम गाउँपालिका प्रमुख कृष्णमान लामा,महाङ्काल गाउँपालिका उपप्रमुख डोल्मा माया गोले, नेपाल सरकारका उपसचिव सञ्जय दहाल, लोकदोहोरी प्रतिष्ठान बाग्मती प्रदेश अध्यक्ष बासु सिंखडा,गोदावरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष पिताम्बर सञ्जेल लगायतले शुभकामना व्यक्त गरेक थिए । उक्त कार्यक्रममा नेपाली मौलिक लोक खैँजेडी भजन, विभिन्न तीज विशेष प्रस्तुती तथा अन्य सांगितिक सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष मिठाराम केसीले प्रतिष्ठान जिल्ला समितिले जिल्लामा सांस्कृतिक विविधता रहेको र विभिन्न मौलिक लोक गीतसंगीत र संस्कृतिको खोज तथा अध्ययन गर्दै अग्रजलाई सम्मान, नव प्रतिभालाइउ प्रोत्साहान गर्दै लगिने बताए ।

Related Articles

Back to top button