समाचार

काभ्रेपलाञ्चोकमा राजस्व छलेर ल्याइएको ३३ बोरा चिनी बरामद

इलाका प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ।

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत प्रहरी चेक पोष्टमा आज बिहान सवारी जाँचका क्रममा बा प्र ०३–००१ ख १९६६ नं को यात्रुबहाक बसमा राजस्व छली ल्याइएको ५० किलोका ३३ बोरा (१६५० किलो) चिनी बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धुलिखेलका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार सङ्खुवासभाको खाँदबारीबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त बसको हुट र डिकीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको चिनीसहित बस र बसका चालकलाई नियन्त्रणमा लिइएको हो।

नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले बिपी राजमार्गअन्तर्गत धुलिखेल–९ स्थित काभ्रेभञ्ज्याङमा कात्तिक तेस्रो साता गरेको सवारी जाँचका क्रममा यातायातका साधनबाट अवैध रुपमा ल्याइएको दश क्वीन्टल चिनी बरामद गरेको थियो ।

Related Articles

Back to top button