राजनीतिसमाचार

पार्टी शुद्धीकरण अभियान चलाउने तयारीमा एमाले

प्रमुख प्रतिपक्षी दल एमालेले पार्टी शुद्धीकरण अभियान चलाउने तयारी गरेको छ ।

२०८१ साललाई पार्टी शुद्धीकरण वर्षका रूपमा अभियान चलाउने एमालेले तयारी थालेको हो । पार्टीका कार्यकर्तादेखि माथिल्लो तहका नेताहरूमा व्यवहारमा कम्युनिस्ट अनुसार नभएको र जनता पार्टीका नेताहरूसँग असन्तुष्ट रहेकाले शुद्धीकरण अभियान चलाउने विषयमा छलफल अघि बढेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

उपाध्यक्ष शाक्यले भनिन्, ‘नेताहरूमा नै विचलन आएको छ । कम्युनिस्ट पार्टीमा न प्रशिक्षण छ न वैचारिक शिक्षा । नेता-कार्यकर्तालाई वैचारिक, राजनीतिक र व्यावहारिक रूपमा स्पष्ट बनाउनुपर्छ । यसका लागि शुद्धीकरण अभियान चलाउने विषयमा छलफल भइरहेको छ ।’

केही दिनअघि बसेको पार्टीको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जनतासँगको सम्बन्धलाई कसरी जीवित राख्ने, नेताहरूको व्यवहार र काम गर्ने तरिकामा कसरी सुधार ल्याउने भन्ने विषयमा अभियान नै चलाउनुपर्ने आवश्यकता रहेको बताएका थिए ।

नेता-कार्यकर्ताको आचरणमा समस्या आएको र यसलाई सच्याएर जान आवश्यक रहेकाले शुद्धीकरण चलाउन आवश्यक रहेको उपाध्यक्ष शाक्य बताउँछिन् । सचिवालयको अर्को बैठकमा शुद्धीकरण अभियानबारे ठोस छलफल हुने उनले बताइन् ।

Related Articles

Back to top button