समाचार

सजिलमानका लागि न्यायको माग गर्दै होटल स्क्वायरअघि प्रदर्शन‍

ललितपुरको होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा घाइते भएका सजिलमान शाक्यको घटनामा होटल पक्ष दोषी रहेको भन्दै उनका आफन्त तथा शुभेच्छुकहरूले मंगलबार पुलचोकस्थित उक्त होटलअगाडि प्रदर्शन गरेका छन्।

घटना भएको पाँच महिना बितिसक्दा पनि पीडित पक्षले न्याय नपाएको भन्दै सोको माग गर्दै आफन्त तथा शुभचिन्तकहरूले आज प्रदर्शन गरेका हुन् ।पाँच महिनाअघि भएको उक्त प्रकरणमा होटलकी सञ्चालिका ललिता भण्डारी देवकोटा केही साताअघि पक्राउ परेकी छन् ।ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि देवकोटाले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन्।ललितपुर महानगरपालिका- ३ मा रहेको होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । भदौ १४ मा घाइते भएका उनी अहिले पनि अचेत अवस्थामा छन् ।

होटलका सञ्चालकहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । परिवारजनका अनुसार भदौ १४ मा दिउँसो ३ बजेर ३० मिनेटमा स्विमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएका हुन् ।घटनामा संलग्न रहेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएकी रोमी अर्याल भने फरार छन् । देवकोटा अर्यालकी सासु हुन् ।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा तदारुकता नदेखाएको भन्दै पीडित पक्षले मंगलबार प्रदर्शन गरेको हो ।

Related Articles

Back to top button