समाचार

गोदावरीमा भएको विराट ज्ञान महायज्ञको आय व्यय सार्वजनिक : ८१ लाख घाटा

ललितपुर ,ललितपुरको गोदावरी नगरपालिका वडा नंं १४ बाँडेगाउँमा गत भदौ २० देखि ३० गतेसम्म सञ्चालन भएको गोदावरी धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं ऐतिहासिक श्रीमद्भागवत विराट ज्ञान महायज्ञमा ८१ लाख ४२ हजार ६ सय ५९ रुपैयाँ घाटा भएको छ ।

अनाथ बालबालिकाहरुको आश्रय स्थल मामाघर अनाथ आश्रमको भवन निर्माणका लागि गरिएको महायज्ञको आय व्यय विवरण सार्वजनिक गर्दै आयोजक संस्था मामाघर अनाथालय सपोर्ट एन्ड केयर सेन्टरले यस्तो जानकारी गराएको हो ।

सार्वजनिक विवरण अनुसार नगदी रसिद, चेक, कलश रसिद, तुलादान, व्रतवन्ध, दानपेटिका, घर भाडा छुट लगायतबाट ६८ लाख ९३ हजार ७ सय ९७ रुपैयाँ आम्दानी भएको छ । विभिन्न सम्मान सामाग्री खरिद, खाद्यान्न खरिद, व्यवस्थापन खर्च, दक्षिणा लगायतका अन्य सबै खर्च गरी जम्मा १ करोड ५० लाख ३६ हजार ४ सय ५६ रुपैयाँ खर्च भएको छ । सबैभन्दा बढी खर्च व्यवस्थापनमा खटिएका स्वयंसेवकहरुको पारिश्रमिकमा भएको छ । आयोजकले जनाए अनुसार उक्त शिर्षकमा मात्र २० लाख १७ हजार ५ सय ८२ रुपैयाँ खर्च भएको छ । त्यसैगरी प्रचारप्रसार सामाग्रीमा १३ लाख ६३ हजार ३ सय, सम्मान सामाग्री खरिदमा १३ लाख ५९ हजार ८ सय ३६ रुपैयाँ खर्च छ ।

मामाघर अनाथाश्रमका संरक्षक तथा कथाबाचक वालयोगेश्वर विजयमूर्तिले संकलन भएको रकम मध्ये ३० लाख गोदावरी नगरपालिका वडा नंं ३ र वडा १४ का वडा अध्यक्षलाई आश्रम निर्माण सहयोगका लागि प्रदान गरिएको, १८ लाख ९१ हजार ७ सय ९७ रुपैयाँ नयाँ संरचना निर्माण तथा फर्निचरमा खर्च गरिएको र बाँकी २० लाख आश्रमसँग बाँकी रहेको बताए । महायज्ञमा लागेको सम्पूर्ण खर्च भने आश्रम व्यवस्थापन समितिले व्यहोर्ने निर्णय भएको उनले जानकारी दिए ।

दान रकम बोलेका र चेक प्रदान गरेकोबाट ७ लाख ६१ हजार ४ सय ३४ रुपैयाँ प्राप्त गर्न अझै बाँकी रहेको उनले बताए । उनले आफूले वार्षिक रुपमा विभिन्न स्थानमा हुने कार्यक्रममा गएबापत प्राप्त हुने रकमबाट तिर्नुपर्ने रकम तिर्दै जाने पनि जानकारी दिए ।

आय व्यय विवरण सार्वजनिक कार्यक्रममा गोदावरी नगरपालिका वडा नंं १४ का वडा अध्यक्ष निरोज बज्राचार्य र वडा नंं ३ का वडा अध्यक्ष सानुराजा घिमिरेले जग्गा प्राप्तीका लागि पहल गरिरहेको जानकारी दिए । उपस्थित सञ्चारकर्मीहरुले विभिन्न प्रश्नहरु राख्दै फजुल खर्च घटाउन सल्लाह दिए ।

मामाघर अनाथाश्रममा अहिले ७१ जना बालबालिका छन् । जसमा ४१ जना बालक र ३० जना बालिका छन् । उनीहरुका लागि अलग अलग बस्ने व्यवस्था छ । गोदावरी नगरपालिकामा रहेका विभिन्न विद्यालयहरुमा उनीहरुलाई पढ्ने व्यवस्था मिलाइएको छ । जाजरकोट भुकम्पबाट पिडितहरुलाई पनि मामाघरमा ल्याइएको छ । आश्रमले अहिलेसम्म ४ जनालाई भने पारिवारिक पुनर्मिलन गराएको छ ।

आश्रममा दैनिक खर्च भने जन्मदिन, विवाह उत्सव, पितृको श्राद्ध लगायतका अन्य अवसरहरुमा दाताहरुले गर्ने खाद्यान्न, नगद सहयोगबाट चलिरहेको छ ।

Related Articles

Back to top button