अर्थतन्त्रसमाचार

एक वर्षको अवधिमा तेब्बरले बढ्यो जिराको मूल्य

एक वर्षको अवधिमा बजारमा जिराको मूल्य तेब्बरले बढेको छ । गत वर्ष प्रतिकेजी ४५० रुपियाँ रहेको जिराको मूल्य एक वर्षको अवधिमा आठ सय रुपियाँले बढेर हाल बजारमा एक हजार २५० रुपियाँदेखि एक हजार चार सय रुपियाँको हाराहारीमा पुगेको छ ।

जिरा आन्तरिक उत्पादन नभई बाहिरी मुलुकबाट आयात हुने गर्छ । भारतमा जिराको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । पाँच छ महिनादेखि लगातार जिराको मूल्य बढ्दा त्यसको प्रभाव आमउपभोक्तालाई पर्न गएको छ । जिरामा नेपाल भारतमाथि निर्भर भएकाले भारतमा जिराको मूल्य उतारचढाव हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा परेको हो।

स्वादका लागि मसलाका रूपमा प्रयोग गरिने जिराको मूल्य बढ्दा उपभोक्ताको भान्छा महँगो हुँदै गएको छ । अन्य समयको तुलनामा चाडपर्वका बेला खपत पनि धेरै हुने गर्दछ । भारतमा उत्पादन कम हुँदा मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ ।

व्यापार प्रवर्धन तथा निकासी केन्द्रको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा विभिन्न मुलुकबाट नेपालमा ४८ करोड ५६ लाख ५० हजार रुपियाँ बराबरको जिरा आयात भएको छ । मुलुकमा जिरा उत्पादन गर्न सक्ने सम्भावना भए पनि स्थानीय उत्पादन नहुँदा आयातमै भर पर्नु परेको छ ।

Related Articles

Back to top button