समाचार

एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध

नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ ।

विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको छ महिनामा ती मोटरसाइकल हस्तान्तरण गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा फेला परेका दुई सय ५२ सवारीसाधन सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबारमात्रै पनि १७ दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी ट्राफिक प्रहरीले हस्तान्तरण गरेको छ । यसमा १४ वटा मोटरसाइकल र तीनवटा स्कुटर रहेका छन् ।सवारीसाधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपाय अवलम्बन गर्नुका साथै मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता भट्टले सर्वसाधारणमा अनुरोध गर्नुभएको छ ।

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

Related Articles

Back to top button