समाचार

मेलम्चीकाे पानी माघ १ गतेदेखि काठमाण्डौमा वितरण हुने

बाढी, पहिरोका कारण क्षति भएर अवरुद्ध बनेको मेलम्ची खानेपानी आयोजनाको पानी अबको चार दिन अर्थात् माघ १ गतेदेखि काठमाण्डौ आउने भएको छ ।

अवरुद्ध भएको ठाउँमा मर्मत गरेपछि मेलम्चीको पानी गएको बुधवार बेलुकीदेखि फेरि काठमाण्डौमा पथान्तरण गरिएको छ ।

पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाण्डौ ल्याउने सहमति भएअनुसार बुधवार बेलुकीदेखि काठमाण्डौका लागि पानी पथान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।

झन्डै २८ दिनको कार्ययोजनासहित पानी पथान्तरणको काम शुरु गरिएको भए पनि २१ दिनमा हेलम्बुदेखि सुन्दरीजल पानी पथान्तरण गरिएको उहाँले बताउनुभयो । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले आउँदो माघ १ गतेदेखि काठमाण्डौ उपत्यकावासीका लागि मेलम्चीको पानी वितरण गर्ने तयारी गरेको छ ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाण्डौ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिनुभयो । आयोजनाले अम्बाथानको २१ नम्बर गेट, पानी पथान्तरण गर्ने ९ नम्बर गेट र १ नम्बर गेटको मर्मत गरेर बुधवार बेलुकीदेखि काठमाण्डौका लागि पानी पठाइएको सिनियर डिभिजनल इन्जिनियर कुँवरले बताउनुभयो ।

 

Related Articles

Back to top button