जुन हुनेछन् आकाशमा तारा हुनेछन्
अँध्यारोका लागि तिनै सहारा हुनेछन्
वंश जोगाउन भनी जन्मिएका छोरा
सोचिनन आमाले तिनै ज्यानमारा हुनेछन्
विवाहमा निकै खुसी थिईन भाउजू
के थाहा वियोगमा अश्रुधारा हुनेछन्
उमङ्ग मनाउदा नजिक हुनेहरु नै हेर
दु:ख पर्दा टाढिएर दुईकिनारा हुनेछन्
कलकलाउदो जवानी हराए एकदिन
मुस्कान दिन दाँत न बङ्गारा हुनेछन्
वृद्धावस्था आउँछ जब जिन्दगीमा
त्यतिबेला लाग्दैन समीप प्यारा हुनेछन्
सुनौलो यो संसार छोडेर जाने दिनमा
आँगनभरी आफन्तजन सारा हुनेछन्
(लेखक प्रणाम खबरका संचालक तथा दर्पण दैनिकका पत्रकार हुन)